देशभर ४९३ स्थानीय तहमा एचपिभी खोप कार्यक्रम सुरु

मकवानपुर । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान ५६ जिल्लाका ४९३ स्थानीय तहमा सञ्चालन गरिएको छ ।

हिमाली र पहाडी भेगका २१ जिल्लाबाहेकका ५६ जिल्लामा ४९३ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनले खोप अभियान यही माघ २५ गतेदेखि सञ्चालन भएपछि हिमाली र पहाडी क्षेत्रमा जिल्लामा चिसो तथा हिमपात पर्ने भएकाले चैतमा खोप अभियान सञ्चालन हुने बताए।

उनका अनुसार कोशीका ९ जिल्लामा ८८ स्थानीय तह, मधेसका ८ जिल्लामा ८५ स्थानीय तह, बागमतीमा १० जिल्लामा ९४ स्थानीय तह, गण्डकीका लुम्बिनीका ११ जिल्लाका ९५ स्थानीय तह, कर्णालीका पाँच जिल्लाका ३१ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा आठ जिल्लाका ७० स्थानीय तहमा सुरु गरिएको छ ।

सरकारले कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका तथा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पाठेघरको क्यान्सरबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ ।

शाखा प्रमुख डा गौतमका अनुसार अभियानका क्रममा २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.