काठमाडौं । मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी मनाउन लागिएको हो ।
दुई संस्थाले बुधबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ५१६ मिटर उचाइको ल्होत्से आरोहणको ७० वर्षको अवसरमा ‘प्लाटिनम जुबिली’ मनाउन लागेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम मनाउन लागिएको बताए । “मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भने ।
एनएमएका अध्यक्ष फुरगेल्जे शेर्पाले ‘प्लाटिनम जुबिली’ नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए । मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।
कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत सङ्ग्रहालयमा मनास्लु हिमालको ‘थ्रिडी मोडेल’ उद्घाटन गरिने अध्यक्ष शेर्पाले बर्ता ।
गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालका पहिलो आरोहीको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताए । उक्त प्रतिमालाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिने उनले जानकारी दिए ।
सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो । मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्विस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए ।








