मकवानपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एच.पी.भी खोप अभियान सुरु हुने भएको छ ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने उक्त अभियानमा जिल्लाभरका किशोरीलाई लक्षित गरेर खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुरका निमित्त प्रमुख घिमिरेले आज सोमबार हेटौंडामा सम्पन्न भएको नियमित खोप विद्यालय केन्द्रीत एच.पी.भी खोप सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरुसँग बहस तथा अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएका हुन् ।
उनले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई उक्त खोप लगाइने बताए । उनका अनुसार, आगामी फागुन फागुन १ गतेसम्म विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिनेछ ।
विद्यालयमा अध्ययन नगरेका वा छुटेका किशोरीलाई भने फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत् नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन बासुदेव रिमालले जानकारी दिए ।
खोप कार्यक्रम पहिलो र दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिने उनले बताए । स्वास्थ्यकर्मीहरूका अनुसार, एच.पी.भी. खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग पु¥याउने भएकाले लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरिएको छ ।
उक्त खोप हरेक वर्ष फागुनमा लगाइने भनिएपनि यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको कारण अगाडि नै लगाउन लागिएको र यो खोप नियमित रुपमा पाइने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।








