देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडामा आजदेखि मतदाता शिक्षा

मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १८ दिन बाँकी रहेको छ।

चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले गतिविधि तीव्र पारेका छन् भने निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ।

प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने आयोगले जनाएको छ। १७ गतेसम्म चल्ने मतदाता शिक्षाका लागि आयोगले २५ करोड खर्च गर्ने भएको छ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको हो।

आजदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ।

त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

आयोगले सो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.