मकवानपुर । आज हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
विशेषगरी काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजन तथा साधुसन्तहरूको उल्लेख्य भीड देखिएको छ। सुरक्षा व्यवस्थालाई कडा पार्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।
भीड नियन्त्रण, हराएका व्यक्तिको खोजी तथा आपत्कालीन उद्धारका लागि विशेष व्यवस्था मिलाइएको छ। खानेपानी, शौचालय, विश्रामस्थल तथा प्राथमिक उपचार केन्द्रको संख्या बढाइएको छ भने विभिन्न अस्पतालसँग समन्वय गरी स्वास्थ्य सेवा उपलब्ध गराइएको कोषले जनाएको छ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा बिहान ४ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष करिब आठ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ भने चार हजारभन्दा बढी साधुसन्तहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापनका लागि चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको छ।
पशुपति क्षेत्र विकास कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।








