काठमाडौं । कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दाजुभाइको हत्या भएको छ ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।
गम्भीर घाइते अवस्थामा उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।
कसरी भयो घटना ?
बुधबार साँझ नेम्बाङ दाजुभाइले गरेको फोन सञ्जीवको मोबाइलमा परेको थियो । उनीहरू एकअर्कालाई चिन्दैनथे । अपरिचित नम्बरबाट फोन आएपछि केहीबेर कुराकानी भयो र त्यसै क्रममा भनाभन सुरु भयो ।
फोनमै विवाद चर्किँदै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए । त्यसपछि इमाडोल बस्ने दाजुभाइ पाटन पुगेका थिए । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीव मासु काट्न प्रयोग हुने हतियार लिएर आएर उनीहरूमाथि आक्रमण गरेका थिए ।









