काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले विजयी शुरुआत गरेको छ । अमेरिकाको बोस्टनमा आज बिहान सम्पन्न खेलमा नर्वेले इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
नर्वेको जीतमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गरे । खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर इराकका कप्तान आयमन हुसेनले ३९औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए । पहिलो हाफ नर्वेले २–१ ले आफ्नो पक्षमा समाप्त गर्यो ।
दोस्रो हाफमा नर्वेले थप दुई गोल गर्यो । ७१औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै अग्रता ३–१ मा पुर्याए । त्यसपछि इन्जुरी समय ९२औँ मिनेटमा क्रिस्टियन थोर्स्टभेड्टले गोल गर्दै नर्वेको जीत सुनिश्चित गरे।
जितसँगै नर्वेले समूह ‘आई’ मा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा फ्रान्स दोस्रो स्थानमा रहेको छ।
सन् १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नर्वेले सुखद शुरुआत गरेको हो ।










