काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण र उत्साहपूर्ण मतदान जारी रहेको बताएका छन्। मतदान गरेपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा मतदाताको सक्रिय सहभागितामा मतदान भइरहेको जानकारी दिए।
भण्डारीले भने, “बिहान ७ बजेदेखि व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ। मतदाताको उपस्थिती र सुरक्षा अवस्था अत्यन्त राम्रो छ। मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्र मतदान सकिनेछ।”
उनले सबै मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहपूर्वक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे। मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरिने र त्यसपछि मतगणना सुरु गरिने उनले जानकारी दिए।
त्यसैगरी, मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए। यस वर्ष युवाहरूको उच्च सहभागिताका आधारमा ६५ प्रतिशतभन्दा बढी मतदान हुने अनुमान गरिएको छ।









