नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रसिया । नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरू रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए ।

कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गरे । उनले यस प्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताए । उनले भने, “नेपालीहरू नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”

त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल (मिलन)ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिए । उनले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताए । उनले लामो समयपछि ठुलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताए ।

एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए । उनले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताए ।

त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरूले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.