बैतडी । यहाँको पुर्चौंडीमा सञ्चालित आँखा शिविरमा एक सयभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया गरिएको छ ।
शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको उक्त शिविरमा एक सय २२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले शिविरमा दुई सय ३० जनालाई चस्मा र चार सय ३५ जनालाई औषधि वितरण गरिएको जानकारी दिए । “ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गर्दै नगरपालिकाले शिविरको आयोजना गरेको थियो । त्यस क्रममा पालिकाभित्रका सात सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्”, उनले भने, “सेवा लिन आएका अधिकांशमा उमेरका कारण नै आँखामा समस्या देखिएको छ ।”
घर नजिकै सञ्चालन भएको शिविरमा आँखाको उपचार सेवा पाएपछि यहाँका ज्येष्ठ नागरिक निकै खुसी भएका छन् । उपचारपछि आँखाको ज्योति फर्किएपछि खुसी लागेको पुर्चौँडी नगरपालिका–८ की झिमा बोहराले बताइन् । “नगरपालिकाले गत वर्ष सञ्चालन गरेको शिविरमार्फत दायाँ आँखाको ज्योति फर्कियो”, बोहराले भनिन्, “यस वर्ष बायाँ आँखाको शल्यक्रिया भएपछि निकै खुसी लागेको छ ।”
नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको संयुक्त आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा रहेका आँखाका बिरामीलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको नगरप्रमुख दीपकबहादुर बमले बताए । वडास्तरमा आँखाको परीक्षण गरी छनोट गरिएका बिरामीलाई शिविरमा ल्याएर शल्यक्रिया गरिएको उनले बताए ।








