मकवानपुर । हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षा र खेलकुदलाई एकअर्कासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शारीरिक र मानसिक विकासका लागि कक्षाकोठाभन्दा बाहिरका गतिविधि पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
अतिरिक्त क्रियाकलापमार्फत शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले वडा कार्यालयले खेलकुदसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।
वडा नम्बर ४ को आयोजनामा, शैक्षिक गुणस्तर सुधार समितिको समन्वय तथा भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नगरभित्रका ६ विद्यालय सहभागी छन्।
माघ २३ र २४ गते दुई दिनसम्म भुटनदेवी माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ आधुनिक राष्ट्रिय मावि, व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटौंडा ४ का संयोजक तथा श्रमिक माविका प्रअ श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ, चन्द्रोदय माविका प्रअ जीधराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी माविका व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमीरेको सभाध्यक्षतामा भएको भुटनदेवी माविका सहप्रअ भरत पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको सह–प्रधानाध्यापक भरत पोखरेलले जानकारी दिनुभयो ।







