हुलाकी सडक फराकिलो बनाउन आग्रह

नेपालगन्ज । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ ।

जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चार लेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले आज हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जमा ज्ञापन पत्र बुझाउँदै सो आग्रह गरेका हुन् । करिब नौ वर्षअघि निर्माण सुरु भई अलपत्र परेको सडक पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट सुरु गरिएको थियो ।

स्थानीय बासिन्दा शरण कर्माचार्यले साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेपछि सडक बिस्तारका लागि आग्रह गरिएको जानकारी दिए । उनले अहिले सडक निर्माण हुन लागेको अवस्थामा केही फराकिलो बनाउन अनुरोध गरिएको उल्लेख गरे । कर्मचार्यका अनुसार सडकको दुवैतर्फ एक मिटर थप गरी सडकको चौडाइ नौ मिटर कायम गर्न र पदमार्गलाई नालीभन्दा पछि निर्माण अघि बढाउन माग गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले नयाँ निर्माणाधीन सडकमा स्थानीयको मागअनुसार सडक विस्तारका लागि सकारात्मक रहेको भन्दै स्वीकृतिका लागि निर्देशनालयमा पठाइने जानकारी दिनुभयो । यसअघि निर्माण भएको संरचनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि बढाउन प्राविधिक कठिनाइ रहेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार २०७४ साल चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरीयामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने थियो । तर पटक–पटक म्याद थप गर्दा काम सम्पन्न भएन । सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकामा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.