बजेट अभावले टिकुलियाघाट पुल निर्माण सुस्त

रौतहट । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ । पछिल्ला दिनहरूमा निर्माण कार्य थप ढिलाइ भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।

सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्णका अनुसार पर्याप्त बजेट अभावका कारण पुल निर्माणले गति लिन सकेको छैन ।

उहाँका अनुसार गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माणाधीन पुलका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट सकिएको छ । निर्माण कम्पनीले रनिङ बिल पेस गरेअनुसार करिब चार करोड रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुल निर्माणका लागि चालु आर्थिक वर्षमा छुट्याइएको दुई करोड रुपियाँ खर्च भइसकेको छ । निर्माण कम्पनीले पेस गरेको बिलअनुसार करिब चार करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।”

छ स्पानमध्ये पाँच स्पानको ढलान कार्य पूरा भइसकेको छ भने बाँकी काम बजेट अभावका कारण अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।

टिकुलियाघाट पुल भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपियाँ लागतमा निर्माण गर्ने गरी २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभीसँग सम्झौता गरिएको थियो । २०८३ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिइएको हो ।

निर्माण कम्पनीका प्रोपाइटर रामसागर चौरसियाले सामग्रीको मूल्य वृद्धि र भुक्तानी नहुँदा काम सुस्त भएको बताउनुभयो । उहाँले सम्पन्न कामको रनिङ बिल पेस गरे पनि भुक्तानी नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “करिब चार करोड रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, तर भुक्तानी पाएका छैनौँ ।” दिपेन्द्रकुमार साहका अनुसार पुलको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति र २१.३३ प्रतिशत आर्थिक प्रगति भएको छ ।

कार्यालय प्रमुख कर्णले समयमै निर्माण सम्पन्न गर्न आवश्यक बजेट माग गरे पनि मन्त्रालयबाट ढिलाइ भइरहेको गुनासो गर्नुभयो ।

यसअघि यही पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । २०७१ असार २९ मा सम्झौता भएको उक्त योजना २०७४ असार २५ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर समयमै काम पूरा नभएपछि २०८० असार १५ मा ठेक्का तोड्दै कम्पनीलाई कालोसूचीमा राखिएको थियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.