काठमाण्डौं । वर्षा शुरू भएसँगै इलाममा सडक सम्पर्कविच्छेद हुने जोखिम बढेको छ । गएको वर्षको अत्यधिक वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल र पहिरो गएका ठाउँको पुनर्निर्माण हुन सकेको छैन ।
भत्किएका सडक र पुलहरू बेलैमा मर्मत हुन नसक्दा यस वर्ष इलामको उत्पादन बाहिर पठाउन नसकिने र जिल्लाकै सम्पर्कविच्छेद हुनसक्ने खतरा रहेको इलाम नगरपालिका मेयर केदार थापाले बताउनुभयो ।
मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा ठूलो पहिरोका कारण सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । गएको वर्ष विपद् प्राधिकरणबाट जम्मा ६० लाख रुपैयाँमात्र प्राप्त भएको र त्यसले कुल क्षतिको ०.५ प्रतिशत काम पनि नधान्ने मेयर थापाले बताउनुभयो ।
केन्द्रबाट पर्याप्त सहयोग नआएपछि नगरपालिकाले आन्तरिक रूपमा २ करोड रुपैयाँको आकस्मिक कोष व्यवस्थापन गरी अवरुद्ध बाटो खोल्ने र पीडितहरूलाई राहत वितरण गरेको थियो ।
इलामको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सङ्घीय सरकारले चालू बजेटमा रकम विनियोजन नगरेपछि स्थानीय जनप्रतिनिधिहरूले गम्भीर गुनासो व्यक्त गरेका छन् । चिया, अलैँची र डेरी उत्पादनमार्फत देशको कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान दिने इलामका सडकहरूको पुनर्निर्माणका लागि बजेट नपरेको भन्दै मेयर थापाले आक्रोश व्यक्त गर्नुभयो ।









